आगामी आवका लागि कृषि उत्पादनमा ३० अर्ब ५८ करोड रुपैयाँको बजेट

 

काठमाडौं/राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष ०७३-७४ को बजेट सीमा निर्धारण गर्दै कृषि विकास मन्त्रालयलाई उत्पादनको लक्ष्य पनि तोकिदिएको छ । आयोगले आगामी आवका लागि ३० अर्ब ५८ करोड रुपैयाँको बजेट सिलिङ तोकेर प्रमुख कृषि वस्तुको उत्पादन लक्ष्य दिएको हो ।

आयोगले चालू आव ०७३-७४ देखि सुरु गरिएको चौधौँ योजना तयार पारेकै वेला आगामी आवको कृषितर्फका प्रमुख बालीको उत्पादन लक्ष्य निर्धारण गरेको थियो । आगामी आवको बजेट सिलिङ निर्धारण गर्दा सोही लक्ष्यअनुसार उत्पादन गर्न निर्देशन आएको कृषि मन्त्रालयका सहायक प्रवक्ता शंकर सापकोटाले जानकारी दिए ।

मन्त्रालय लक्षित दरमा प्रमुख बालीको उत्पादन गर्न केन्द्रित रहेर सिलिङभित्रै बजेट निर्माण गरिरहेको उनले बताए । ‘आयोगले आगामी आवका लागि दिएको बजेट सिलिङअनुसार कार्यक्रम बनाउ“दा उत्पादनको लक्ष्यलाई प्राथमिकता दिइएको छ,’ उनले भने, ‘चालू आवमा अधिकांश खाद्यवस्तुको उत्पादन लक्ष्यअनुसार हुने देखिएकाले आगामी वर्ष पनि सफल हुने अपेक्षा छ ।’

आयोगले आगामी आवमा ५१ लाख ९८ हजार मेट्रिकटन धान उत्पादन गर्न लक्ष्य दिएको छ । त्यस्तै, गहुँ २० लाख ४७ हजार, मकै २५ लाख २० हजार, आलू ३१ लाख, तेलहन २ लाख २१ हजार र दलहन ४ लाख १० हजार मेट्रिकटन उत्पादनको लक्ष्य दिएको छ । त्यसैगरी उखु ३७ लाख ५० हजार, फलफूल १३ लाख ३९ हजार, तरकारी ३८ लाख, चिया २७ हजार र माछा ९५ हजार मेट्रिकटन उत्पादनको लक्ष्य दिइएको छ ।
लक्षित दरमा उत्पादन बढाउने गरी कार्यक्रम निर्माण भइरहेको उनले जानकारी दिए । अनुदान, मेसिनरी तथा उन्नत बिउको प्रयोग, मलको पर्याप्तता, सिँचाइ सुविधालगायतमा बजेट वितरण गरी उत्पादन बढाउने कार्यक्रम निर्माण भइरहेको सापकोटाले बताए ।

धान उत्पादन राम्रो
यो वर्ष मौसमले साथ दिएका कारण कृषि क्षेत्रमा मुख्य योगदान गर्ने धानको उत्पादन लक्ष्यभन्दा बढी भएको छ । योजना आयोगले ४९ लाख ५० हजार मेट्रिकटन उत्पादनको लक्ष्य दिएकोमा ५२ लाख ३० हजार मेट्रिकटन उत्पादन भएको छ । त्यस्तै मकैका लागि २४ लाख मेट्रिकटन उत्पादनको लक्ष्य दिएकोमा २२ लाख ५९ हजार मेट्रिकटन मात्रै उत्पादन भएको कृषि विकास मन्त्रालयले जनाएको छ । लक्ष्यभन्दा बढी धान उत्पादन भएका कारण कृषिको समग्र सूचकांक सकारात्मक हुने सहायक प्रवक्ता शंकर सापकोटाले जानकारी दिए । यो वर्ष उत्पादित धानको मूल्य १ खर्बभन्दा बढी भएको उनले बताए ।

जिडिपीमा ७ खर्ब योगदान
कृषि क्षेत्रले देशको कुल गार्हस्थ उत्पादन (जिडिपी)मा ७ खर्ब रुपैयाँबराबरको योगदान गरेको कृषि मन्त्रालयले जनाएको छ । जुन कुल जिडिपीको ३१.८ प्रतिशत हो । कृषिको जिडिपीमा खाद्यान्न २०.७५ प्रतिशत, गेडागुडी २८.६६ प्रतिशत, पशुपक्षी २५.७८, फलफूल तथा मरमसला ७.०४ प्रतिशत, वनपैदारसँग सम्बन्धित उपज ८.१ प्रतिशत र तरकारी ९.७१ प्रतिशत योगदान रहेको छ । यद्यपि कृषि क्षेत्रको वृद्धिदरमा भने उल्लेख्य सफलता हासिल हुन सकेको छैन । गत आव ०७२-७३ मा १.९ प्रतिशत वृद्धिदर हासिल भएको थियो । यो वर्ष हिउँदे धान उत्पादन बढेको र निरन्तर पानी परिरहेका कारण चैते धानको उत्पादनसमेत बढ्ने अनुमान छ । जसकारण कृषि क्षेत्रको वृद्धिदर ३ प्रतिशत नाघ्ने सापकोटाले दाबी गरे ।

अहिलेको अवस्था
चालू आव ०७३-७४ को धान र मकैं उत्पादनको तथ्यांक मात्रै सार्वजनिक भएको छ । गत आव ०७२-७३ मा गहुँ १८ लाख ११ हजार, दलहन ३ लाख ५२ हजार, फलफूल १० लाख ९६ हजार, आलू २८ लाख ७५ हजार, तरकारी ३७ लाख, माछा ७८ हजार मेट्रिक टन, तेलहन १ लाख ९९ हजार, उखु ३१ लाख ४८ हजार र चिया २३ हजार मेट्रिक टन उत्पादन भएको थियो ।

Universal News7

Good news for all

Leave a Reply

Your email address will not be published. Required fields are marked *