कैलालीमा चैत धानको उत्पादकत्वमा वृद्धि, गत सिजनमा ४ दशमलव ४ मेट्रिकटन प्रतिहेक्टर उत्पादन

काठमाडौं – कैलालीमा चैते धान खेती गरिने क्षेत्र विस्तार भएसँगै यो सिजनमा चैत धानको उत्पादकत्वमा समेत वृद्धि भएको छ । गत सिजनमा ४ दशमलव ४ मेट्रिकटन प्रतिहेक्टर उत्पादन भएकोमा यो सिजनमा प्रतिहेक्टरमा साढे चार मेट्रिकटन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय कैलालीले जनाएको छ ।यो सिजनमा जिल्लाभरी चैते धान लगाइएको २ सय ६२ हेक्टरबाट १ हजार १ सय ७९ मेट्रिक टन चैते धान उत्पादन कृषि विकास कार्यालयका अधिकृत गौरीशंकर गुप्ताले जानकारी दिए । अघिल्लो वर्ष १ सय ४७ हेक्टरमा चैते धान खेती गरिएकोमा ६ सय ४६ मेट्रिकटन धान उत्पादन भएको थियो ।

‘चैते धानमा सरकारले प्रोत्साहन दिन थालेपछि क्षेत्र विस्तार हुनका साथै उत्पादकत्वमा समेत वृद्धि भएको छ ।’ कृषि प्रसार अधिकृत गुप्ताले भने–‘एक हेक्टर भन्दा बढी क्षेत्रमा चैते धान खेती गर्ने किसानलाई आर्थिक अनुदान दिने गरिएको छ ।’ एक हेक्टर भन्दा बढीमा चैते धान लगाउने किसानलाई प्रोत्साहन स्वरुप ५ हजार रुपैया दिने गरिएको उनले बताए । चैतमा धान लगाएका किसानले बाली भित्र्याएर वर्षे धान लगाइसकेका छन् ।

 

अन्न उत्पादनका दृष्ट्रिले उर्बर कैलालीमा वर्षमा तीन बाली लगाउन सकिने भए पनि सिंचाई सुविधा नहुनु, जानकारीको अभावजस्ता कारणले संभावनाअनुसार चैते धानको क्षेत्र विस्तार हुन नसकेको कृषि प्रसार अधिकृत गुप्ताले बताए । यो सिजनमा चैते धान खेतीलाई ३ सय हेक्टरसम्म विस्तार गर्ने लक्ष्य कृषि विकास कार्यालयले लिए पनि पुरा हुन सकेन । वर्षायाममा बाढी र डुवानको अत्यधिक समस्या हुने भजनी, लालबोझी, नारायणपुर, टीकापुर, धनसिंहपुर, मुनुवालगायत क्षेत्रमा चैते धान लगाइने गरिएको छ । बाढीले वर्षे धानबालीमा क्षति गर्ने भएकाले बाढी प्रभावित क्षेत्रका किसानहरु चैते धान लगाउने गरेका छन् । बाढी आएपछि डुवानले वर्षे बाली नष्ट गर्ने भएकाले चैते धान खेती नै गुजाराको आधार बनेको थापापुरका किसान भेसराम चौधरीले बताए ।‘वर्षेबाली लगाउँछौ तर बाढीका कारण भित्र्याउन पाउने/नपाउने भर नै हुँदैन ।’ भजनीको कृष्णनगरका रामप्रसाद चौधरीले भने–‘त्यसैले यो क्षेत्रका धेरैजसो किसान चैते धान खेती लगाउने गरेका छन् ।’ चैते धान लगाउँदा सिंचाईको समस्या रहेको उनले बताए ।

Save

Save

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *