खडेरीको कारणले खेतबारीको मकै सखाप

काठमांडौ– लामो समयदेखिको खडेरीले जिल्लामा लगाएको मकैबाली सखाप भएको छ । खडेरीले गर्दा जिल्लाको पूर्वी र दक्षिणी भेगका बारीमा लगाइएको मकैबाली सखाप भएको हो ।

असारको पहिलो हप्ता बितिसक्दा पनि पानी नपरेपछि मकैसँगै यस सिजनमा लगाउने अन्य बालीसमेत प्रभावित भएको छ । यस क्षेत्रका कृषकहरूले धानको बिउ पनि राख्न पाएका छैनन् । कोदो र अन्य सहायक बालीसमेत प्रभावित भएको छ । खाँडादेवी गाउँपालिका–४ पकरबासकी लक्ष्मीमाया श्रेष्ठले वर्षौँदेखी खानेपानीको समस्या रहेको यो स्थानमा अहिले खडेरीले बाली डडेर गएको बताइन् ।

पानीको हाहाकार
चार–पाँच वर्षदेखि न्यून वर्षात् हुने गरेको यस क्षेत्रका गाउँमा पानीका मुहान सुक्दै गएपछि खानेपानी हाहाकार भएको छ । पानी अभावले गर्दा बसाइँसराइसमेत बढ्दै गएको छ । वर्षात् नहुँदा ठुल्ठूला रूख–बिरुवा पनि मर्न थालेका छन् । जिल्ला समन्वय समितिलगायत जिल्लाका सरोकारवालाको बैठकमा समेत यस विषयमा धेरैपटक कुरा उठेको छ । जलवायु परिवर्तनका कारण परेको असरलाई न्यूनीकरण गर्न रामेछापका खडेरीग्रस्त क्षेत्रमा खानेपानीका लागि तामाकोसी, सुनकोसी र लिखु नदीबाट लिफ्ट सिस्टमबाट पानी तान्ने काम भइरहेको छ ।

सदरमुकाम मन्थलीलगायत कतिपय बस्तीमा भने अहिले पनि लिफ्ट सिस्टमबाट तानेको पानी प्रयोगमा ल्याइएको छ । तर, वर्षात् लागेसँगै ती क्षेत्रमा परेको खडेरीले बोटबिरुवा मर्न थालेपछि त्यसको वैकल्पिक व्यवस्थाका लागि स्थानीय सरकारले सोच्नुपर्ने बेला आएको रामेछाप नगरपालिकाकी उपप्रमुख सिर्जना खड्काले बताइन् । उनले भनिन्, ‘रामेछापका लागि यो दुर्भाग्य हो । समयमा वर्षात् नहुँदा किसानले खेतबारीमा लगाएको बाली बिग्रन थालेको छ ।’

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *