थानकोट र भक्तपुरबाट आउने तरकारीमा बढी विषादी काठमाडौंको बजारमा

-उपत्यकाको तरकारीमा धेरै विषादी 

-गोलभेँडा र काउलीमा झन धेरै विषादी

काठमाडौं– भान्सामा दैनिक प्रयोग हुने तरकारी उत्पादनमा धेरै विषादी प्रयोग हुने गरेको भेटिएको छ । किसानले उत्पादन गर्दा नै चाँडो फलाउन, किरा–फट्यांग्रा मार्न, प्रतिकूल मौसमबाट जोगाउन तथा लामो समयसम्म ताजा देखाउन तरकारीमा विषादी प्रयोग गर्ने गरेका छन् । विषादी छर्नासाथ तरकारी टिप्ने र बजारमा पठाउने प्रवृत्ति पनि बढेको छ । जसकारण उपत्यकाका उपभोक्ता विषादीयुक्त तरकारी उपभोग गर्न बाध्य छन् ।

कृषि विकास मन्त्रालयमातहतको बाली संरक्षण निर्देशनालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अलग–अलग अनुगमन र परीक्षण गरी तरकारीमा विषादीको मात्राका अध्ययन गरेका छन् ।

बेमौसमी तरकारीमा बढी
अनुगमनले बेमौसमी तरकारीमा बढी विषादी प्रयोग हुने गरेको देखाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत मदन चापागाईंले मौसमी तरकारीमा विषादी कम र बैमोसमी तरकारीमा बढी देखिएको जानकारी दिए । ‘बेमौसमी तरकारी फलाउन बढी मिहिनेत गर्नुपर्ने भएका कारण हुन सक्छ, यस्ता तरकारीमा बढी विषादी राख्ने गरेको देखिएको छ,’ उनले भने । उपभोक्ताले मौसमी तरकारीको उपभोग बढाए विषादीको जोखिम हुने उनको सुझाब छ ।

भारतीय तरकारीमा बढी विषादी
आव ०७२-७३ मा भारत, चीन, भुटान, अस्ट्रेलिया र न्युजिल्यान्डबाट आयात भएको तरकारीको परीक्षण गरिएको थियो । भारतबाट आयातीत तीनवटा तरकारीमा विषादी भेटिएको थियो । आव ०७३-७४ मा भारत, चीन, भुटान र नेदरल्यान्डबाट आएको तरकारीको परीक्षण गरिएको थियो । त्यसमध्ये भारतबाट आयातीत ६ वटा तरकारीमा विषादी भेटिएको निर्देशनालयले जनाएको छ । अन्य देशबाट आयात भएका तरकारीमा विषादी नदेखिएको निर्देशनालयले जनाएको छ ।

कालिमाटी तरकारी व्यवसायी समितिका अध्यक्ष भरतप्रसाद खतिवडाका अनुसार विदेशबाट आयात हुने तरकारीमा भारतको हिस्सा ७० प्रतिशतभन्दा बढी छ । आलु, प्याज, कागती र बैमौसमी तरकारी भारतबाट धेरै आयात हुन्छ ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *