रणनीतिक सडकमध्ये आधा मात्र कालोपत्रे

कुल रणनीतिक सडक लम्बाइ १२ हजार ८ सय ९८ दशमलव २० किलोमिटर

काठमाडौं/देशभर अहिलेसम्म निर्माण भएको रणनीतिक सडकमध्ये आधा मात्र कालोपत्रे (पक्की) रहेको पछिल्लो तथ्यांकले देखाएको छ । सन् २०१५-१६ सम्म निर्माण गरिएको कुल रणनीतिक सडक लम्बाइ १२ हजार ८ सय ९८ दशमलव २० किलोमिटर छ । त्यसमध्ये ६ हजार ८ सय २३ दशमलव ४३ किलोमिटर मात्र कालोपत्रे भएको छ । यो कुल रणनीतिक सडकको ५२ दशमलव ९० प्रतिशत हो । रणनीतिक सडक सञ्जालअन्तर्गत राष्ट्रिय राजमार्ग र फिडर सडक मात्र रहन्छन् । अहिले कुल २१ वटा राजमार्ग र २ सय ९ वटा फिडर सडक रहेका छन् । सडक विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार रणनीतिक ग्राभेल सडकको लम्बाइ २ हजार ४४ दशमलव २२ किलोमिटर रहेको छ । त्यस्तै, धुले सडकको ४ हजार ३० किलोमिटर लम्बाइ पुगेको छ । कुल रणनीतिक सडकमा धुले र ग्राभेल सडकको कुल हिस्सा ४७ दशमलव ०९ प्रतिशत रहेको छ ।

स्रोत: सडक विभाग

रणनीतिक सडक निर्माण बढ्यो, गुणस्तर घट्यो
पछिल्लो १८ वर्षको अवधिमा रणनीतिक सडक सञ्जालको वृद्धि २ दशमलव ७२ गुणाले भएको छ । सडक सञ्जालको हिसाबले वृद्धि देखिए पनि सडकको गुणस्तरमा भने कमजोर देखिएको छ । सन् १९९८ मा कुल सडकको ३ दशमलव ७७ प्रतिशत मात्र धुले सडक थियो । जबकि अहिले निर्माण भएको कुल रणनीतिक सडकमध्ये धुले सडकको अंश ३१ दशमलव २४ प्रतिशत रहेको छ । त्यस्तै, १८ वर्षअघि रणनीतिक सडकमध्ये ग्राभेल सडकको अंश ४४ दशमलव ९३ प्रतिशत थियो । जबकि अहिले यसको हिस्सा १५ दशमलव ८४ प्रतिशतमा झरेको छ । ग्राभले धुले सडकको तुलनामा स्तरीय मानिन्छ । सडकको पूर्णता (फिनिस्ड प्रडक्ट) मानिने कालोपत्रे सडकको हिस्सा अहिले ५२ दशमलव ९० प्रतिशत छ । सन् १९९८ मा कुल रणनीतिक सडकमध्ये कालोपत्रे सडकको हिस्सा ६१ दशमलव २८ प्रतिशत थियो ।

नेपालमा ६० वर्षअगाडि कालोपत्रे सडक थिएन
नेपालमा योजनामा आधारित विकास सुरु भएको प्रथम पञ्चवर्षीय योजनाको थालनी देखि हो । ०१३ मा सुरु भएको उक्त योजना निर्माणपूर्व नेपालमा कुल ६ सय २७ किलोमिटर ६ सय ४४ मिटर सडक थियो । त्यसमध्ये २ सय ६१ ग्राभेल किलोमिटर सडक थियो भने बाँकी केही सडक मौसमी (हिउँदमा सञ्चालन भए वर्षामा नहुने)खालको थियो । काठमाडौं उपत्यकामा मानिसले बोकेर नै सवारीसाधन ल्याउने गर्थे । कालोपत्रे सडकको अंश भने साह्रै नगन्य रहेको पहिलो पञ्चवर्षीय योजना पुस्तिकामा उल्लेख छ । तर, कालोपत्रे सडक कति थियो भनेर कतै पनि उल्लेख गरिएको भेटिएको छैन । प्रथम पञ्चवर्षिय योजनाले भने ०३३ (चारवटा पञ्चवर्षीय योजना अवधि)मा ६ हजार ४ सय ३४ किलोमिटर सडक निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिएको थियो । चौथो पञ्चवर्षीय योजना (२०२७–२०३२) सम्ममा भने देशभर ३ हजार ८ सय किलोमिटर सडक निर्माण भएको थियो ।

Universal News7

Good news for all

Leave a Reply

Your email address will not be published. Required fields are marked *