राष्ट्रिय भावना बोकेका गीतहरु नै मनपर्छ : प्रेम

नेपालको पुर्वाञ्चल क्षेत्रमा चर्चित एवं उदाउँदो गायक हुन् प्रेम आङदेम्बे । थुप्रै स्टेज कार्यक्रमहरुमा आफ्नो सुमधुर स्वर र गायन क्षेमता प्रस्तुत गर्दै आएका उनले २०६६, मा झापा आइडल तथा पूर्वाञ्चल आइडल २०७३, मा प्रथम स्थान हासिल गरेका थिए भने नेपाली तारा सिजन थ्री को उत्कृष्ठ ‘बीस’मा छनौट हुन सफल भएका थिए । झापा जिल्लाको शिवसताक्षी नगरपालिकाको शिवगञ्जमा बस्दै आएका नवगायक प्रेम आङदेम्बेसँग गरिएको छोटो कुराकानी ः

गायन क्षेत्रमा कसरी लाग्नु भयो ?

—सानैदेखि गीत गाउन मन लाग्थ्यो । पहिलो पटक स्कुलमा पढ्दा कक्षामा गीत गाएँ । ‘सर’ र साथीहरुले धेरै मन पराए र राम्रो मनेर हौसला दिए । त्यसपछि प्रतियोगिताहरुमा सहभागिता जनाउन थालें । पूर्वाञ्चल आइडलमा प्रथम भएपछि विभिन्न स्टेज कार्यक्रमहरुमा पनि गाउने अवसर मिल्न थाल्यो । अहिले आफ्नै सांगितिक एल्बम निकाल्ने तयारीमा छु ।

आफ्नो सांगीतिक एल्बमको विषयमा केही बताइदिनुस् ?

—यो मेरो एकल स्वर रहेको ‘समय’ नामक एल्बम हो । ६ वटा गीतहरु समावेश गरेको छु । सम्पूर्ण गीतहरु म आफैंले लेखेको हुँ । संगीत जोनी योञ्जनले गर्नुभएको छ ।

कहिले सम्म बजारमा आउँछ ?

—काम भइरहेको छ । केही गीत रेकर्डिङ्ग गर्न बाँकी छ । भर्खरै एउटा म्यूजिक भिडियोकोे छायाँकन सकियो । सम्पादन सकिए लगत्तै म्युजिक भिडियो सार्वजनिक गर्ने तयारीमा लागेको छु । सकभर छिट्टै आउँछ ।

कस्ता गीतहरु समावेश छन् एल्बममा ?

—मुख्य पूर्वेली शैलीका भाका समेटेको छु । यस्तै राष्ट्रिय भावना बोकेको तथा लोक र पप शैलीका गीतहरु पनि छन् ।

स्टेज कार्यक्रमहरुमा पनि देखिनु हुन्छ नि, कस्ता गीत गाउनु हुन्छ ?

—पूर्वाञ्चलका जिल्लाहरुमा र केही बाहिरबाट पनि कार्यक्रम एवं महोत्सवहरुमा निमन्त्रणा आउने गरेको छ । धेरैजसो राष्ट्रिय भावनाका र दर्शकले रुचाएका गीतहरु नै गाउने गरेको छु । दर्शकबाट राम्रो ‘फिडब्याक’ पाएको छु ।

गीत संगीतको विषयमा अध्ययन पनि गर्नु भएको कि ?

—प्रशिक्षण लिएको छु । दुई वर्ष सन्लाइट संगीत विद्यालयमा गुरु कृष्ण योञ्जनबाट संगीत सिकेको छु । नियमित अभ्यास पनि गर्छु ।

स्थानीय निर्वाचनको समयमा झण्डा प्रचार गर्नुभयो यसले चर्चा पनि पायो, खास कारण के थियो ?

—मुख्य उद्देश्य राष्ट्रिय भावना जाग्रीत गर्नु नै थियो । चुनावमा जुन राजनीतिक दलले जिते पनि देश र जनताको पक्षमा सवैजना उभिनु पर्छ, सवै मिलेर देश विकासमा जुट्नु पर्छ भन्ने सन्देश प्रवाह गर्न राष्ट्रिय झण्डासँगै केही राजनीतिक दलहरुका झण्डाहरु सँगै प्रचार अभियान संचालन गरेको थिएँ ।

भविष्यको योजना के नि ?

—सांगीतिक क्षेत्रमै करिअर बनाउने लक्ष्य हो । अहिले आफ्नै गीति एल्बमको तयारीमा छु । सामाजिक सेवा र सांगीतिक क्षेत्रमै लागिपर्ने योजना छ ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *