३ सय ६५ जना पर्वतारोहीले सगरमाथा आरोहणका लागि अनुमति लिए

काठमाडौं : यस वर्ष अहिलेसम्म ३ सय ६५ जना पर्वतारोहीले सगरमाथा आरोहणका लागि पर्यटन विभागबाट अनुमति लिएका छन् । पर्यटन विभागका प्रवक्ता दुर्गादत्त ढकालले यो सिजनमा ३९ आरोहण दलका तीन सय ६५ जनाले सगरमाथा आरोहण गर्न अनुमति लिइसकेको जानकारी दिनुभएको हो ।

सन् १९५३ मे २९ मा सफल आरोहणपछि यति धेरै संख्यामा पर्वतारोही सगरमाथा आरोहणमा आएका थिएनन् । हिमपहिरो र भूकम्पका कारण सन् २०१४ मा आरोहण स्थगन भएपछि यस वर्ष ६३ वर्षकै सर्वाधिक पर्वतारोही सगरमाथा आरोहणमा जान लागेको प्रवक्ता ढकालले बताउनुभयो । यसपालि वसन्तयाममा सगरमाथासहित अन्य हिमाल आरोहण गर्ने विदेशी पर्वतारोहीको संख्यामा उत्साहजनक वृद्धि भएको विभागले जनाएको छ ।

आरोहणका लागि उपयुक्त र आरोहण शुल्क सस्तो भएकाले नेपालका हिमालमा विदेशी पर्वतारोहीको भीड लाग्ने गरेको पर्यटन व्यवसायी टीकाराम गुरुङले बताउनुभयो । भूकम्प र हिमपहिरोेले आरोहण प्रभावित भएको हल्ला निराधार भएको यस वर्षको आरोहण दल र पर्वतारोही संख्याले नेपालका हिमाल सुरक्षित भएको सन्देशसमेत दिएको विभागको भनाइ छ ।

नयाँ प्रविधि र रुट व्यवस्थापनदेखि दक्ष जनशक्ति उत्पादनले पछिल्लो समय पर्वतारोहण केही सहज भएको नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले बताउनुभयो । विगतभन्दा अहिले आरोहण केही सहज भएकाले नयाँनयाँ कीर्तिमान बनाउन र उचाइको अनुभव गर्न पर्वतारोहीको भीड लाग्ने गरेको उहाँले बताउनुभयो । यो सिजनमा अनुमति लिएका पर्वतारोही सगरमाथाको आधारशिविरमा आरोहण तयारीमा जुटेका छन् । आरोहीहरू उचाइअनुकूल सहज बनाउन परीक्षणका रूपमा हाइकिङ गर्दै आएका छन् । सगरमाथा आरोहण दिवस मे २९ मा शिखर चुम्ने लक्ष्य राखे पनि प्रतिकूल मौसमले सफल नभएको जानकारी पायोनियर एड्भेन्चर एजेन्सीका प्रमुख आरोही ङातेन्जी शेर्पाले दिनुभयो ।

सगरमाथाबाहेक यस वर्ष कञ्चनजंघा आरोहण गर्न तीन दलका २१ जना, ल्होत्से आरोहणमा ९ दलका एक सय आठजना, मकालु आरोहणमा चार दलका ४३ जना, मनास्लु आरोहणमा एउटा दलका ६ जना, यलुङ खाङ आरोहणमा एउटा दलका २ जना, धौलागिरि आरोहणमा ६ दलका ६३ जना र अन्नपूर्ण पहिलो आरोहणमा तीन दलका १४ जना पर्वतारोहीले विभागबाट अनुमति लिएका छन् ।

पर्वतारोहीले यस वर्ष ९ वटा अग्ला हिमालको आरोहण अनुमति लिएका छन् भने छ्यो युलगायत अन्य हिमालमा आरोहण शून्य छ । नेपालमा सगरमाथालगायत ८ हजार मिटरभन्दा अग्ला ८ वटा हिमशिखर र तीभन्दा होचा चार सयभन्दा धेरै हिमालको पहिचान भएको छ । विभागले भने सगरमाथा आरोहण दिवसमा पर्यटन प्रवद्र्धन गर्न र्‍यालीसहित नगर परिक्रमा गर्ने र पर्वतारोहीको सम्मान गर्ने जनाएको छ ।

लक्ष्य कीर्तिमानको

पर्वतारोहीहरूले विभिन्न कीर्तिमान राख्ने प्रस्तावसहित निवेदन दिएको विभागले जनाएको छ । अधिकांश आरोहण दलले अक्सिजन प्रयोग नगरी सगरमाथा चढ्ने, एक भारतीय आरोहीले एकै सिजनमा दुईपल्ट सगरमाथा चढ्ने र नेपालका ८६ बर्से आरोही मीनबहादुर शेरचन सबैभन्दा बढी उमेरमा सगरमाथा चढ्ने कीर्तिमानका लागि स्वीकृति लिएर आधारशिविर पुगिसकेको जानकारी विभागले दिएको छ ।

फोहोर व्यवस्थापनको चुनौती

आरोही संख्या बढे पनि हिमालमा फोहोर व्यवस्थापनको चुनौति भने जटिल बन्दै गएको छ । फोहोर व्यवस्थापन गर्न राज्यले ऐन र नियमावलीमा प्रभावकारी प्रावधान गरेको भए पनि कार्यान्वयन फितलो हुँदा हिमालमा फोहोरको थुप्रो बढेको हो । आरोहीले लैजाने सामग्रीको परिमाण र उपभोगपछि फोहोर फिर्ता नल्याए धरौटी जफतदेखि थप कारबाही हुने कानुनी व्यवस्था छ ।

सगरमाथाको फोहोर व्यवस्थापन गर्न सरकारले सगरमाथा प्रदूषण नियन्त्रण संस्थालाई जिम्मा दिए पनि आधारशिविरदेखि शिखरसम्मै फोहोरको डंगुर अझै बढ्दै गएपछि पर्यटन व्यवसायी चिन्तित भएका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा हिजोआज हिमशिखरभन्दा पनि फोहोरको शिखर हुन लागेको पर्यटन व्यवसायी बताउँछन् ।

फोहोर व्यवस्थापन गर्न तीन प्रकारका फोहोर विभाजन गरिएको छ भने आरोहण दलले नै फोहोर तल ल्याउनुपर्ने कानुनी व्यवस्था छ । पर्वतारोहणसम्बन्धी नियमावली २०५९ को दफा २७ मा नष्ट गर्न सकिने, फेरि प्रशोधन गर्न सकिने र फेरि निकासी गर्नुुपर्ने फोहोरमैला यकिन गरी आरोहण दल आफैंले फोहोर ल्याउनुपर्ने प्रावधान छ । नष्ट गर्ने फोहोर आधार शिविरमा जलाउने, फेरि प्रशोधन गर्न सकिने फोहोर ल्याएर काठमाडौं महानगरपालिकालाई बुझाउनुपर्ने र फेरि निकासी गर्नुपर्ने फोहोर सम्बन्धित आरोहीले आफ्नो देशमा फिर्ता लानुपर्ने कानुनी व्यवस्था छ ।

नियमावलीको दफा २६ मा फोहोरमैला व्यवस्थापनका लागि तीन हजार अमेरिकी डलर धरौटी राख्नुपर्ने नियमसमेत छ । फोहोर फिर्ता नल्याए धरौटी जफत हुने व्यवस्था छ । फोहोरजन्यवस्तु कस्ता र कति परिमाणमा हिमालमा लगेको तथ्यांक राखेर फिर्ता ल्याए÷नल्याएको अनुगमन गरी पर्यटन विभागलाई सिफारिस गर्ने जिम्मा सगरमाथा प्रदूषण नियन्त्रण संस्थाले लिएको छ ।

यस्ता कानुनी प्रावधान भए पनि अधिकांश हिमालमा फोहोरको रास थुप्रेको आरोहीहरू बताउँछन् । फोहोर व्यवस्थापनको जिम्मा लिएका संस्थाहरूले काम नगर्दा फोहोरको थुप्रो बढ्दै गएको आरोप आरोही र पर्यटन व्यवसायी लगाउँछन् । आरोहीले प्रयोग गरेका टेन्ट, फलाम, प्लास्टिक, रबरजस्ता सामग्री जथाभाबी फालिए पनि अनुगमन नहुँदा आधारशिविरदेखि शिखरसम्मै फोहोरले ढाकेको हो । विभागका अनुसार सगरमाथाको फोहोर व्यवस्थापनको जिम्मेवारी कानुनी रूपमा आरोहण दलको नै भएको जनाएको छ ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *