८ दशमलव ३२ अंक बढ्यो बजार

कारोबार रकम करिब १२ करोड घट्यो

आइतबार २४ दशमलव २ अंक घटेर बन्द भएको बजार सोमबार भने ८ दशमलव ३२ अंक बढेको छ । बजार खुलेको केही समयपछि बढ्न थालेको परिसूचक १ हजार ६ सय ४६ बिन्दुमा पुगेको थियो । त्यसपछिको समयमा सामान्य घटेको परिसूचक अन्तिम समयसम्ममा शून्य दशमलव ५१ प्रतिशत बढेर बन्द भएको छ । परिसूचक बढे पनि यस दिनको कारोबार रकम भने अघिल्लो दिनको तुलनामा करिब १२ करोड घटेको छ । लगानीकर्ताहरू ‘पर्ख र हेर’को अवस्थामा रहेका कारण कारोबार रकम घटेको हो । यस दिन कारोबारमा आएको ‘अन्य’ समूहको परिसूचकबाहेक अरू सबै समूहको परिसूचक बढेको छ ।

१० बराबर ४ अनुपातको हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम दिन भएका कारण नेपाल एसबिआई बैंकको यस दिन रू. ८ करोडभन्दा बढी सेयर कारोबार भएको छ । यस बैंकको सेयर मूल्य भने सोमबार स्थिर रही रू. १ हजार ४ सयमा कारोबार भएको छ । मेरो माइक्रोफाइनान्सको सेयर मूल्य यस दिन १० प्रतिशत बढेको छ । सप्तकोसी, माउन्ट मकालु र श्री इन्भेष्टमेन्टको सेयर मूल्य भने यस दिन ५ प्रतिशतभन्दा धेरै घटेको छ ।

‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स सोमबार शून्य दशमलव ५३ प्रतिशत बढेर ३ सय ४९ दशमलव ७६ बिन्दुमा पुगेको छ । यस दिन १ सय ४२ कम्पनीको ५ हजार २ सय ४६ पटकको कारोबारमा रू. ५७ करोड २५ लाखबराबरको ९ लाख २२ हजार सेयर खरिद–बिक्री भएको छ । नेप्सेको १४ दिने आरएसआई यस दिन ५३ दशमलव ५६ स्केलमा रहेको छ, जसले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको  संकेत गर्छ ।

सोमबार ओरियन्टल र तारागाँउको सेयर मूल्य घटे पनि सोल्टी होटेलको सेयर मूल्य रू. १६ बढेपछि होटेल समूहको परिसूचक सर्वाधिक २ दशमलव ८३ प्रतिशत बढेको छ । यस दिन ओरियन्टलको सेयर मूल्य रू. १० घटेको थियो भने तारागाँउको रू. ५ घटेको थियो । वित्त समूहको परिसूचक शून्य दशमलव ७१ प्रतिशत, जलविद्युत् समूहको शून्य दशमलव ६१ प्रतिशत र विकास बैंक समूहको शून्य दशमलव ६ प्रतिशत बढेको छ ।

कारोबारमा आएको बैंकिङ समूहको परिसूचक शून्य दशमलव ५२ प्रतिशत र बिमा समूहको परिसूचक शून्य दशमलव ४४ प्रतिशत बढेको छ । यस दिन ‘अन्य’ समूहको परिसूचक भने शून्य दशमलव १३ प्रतिशत घटेको छ । नेपाल दूरसञ्चार कम्पनीको सेयर मूल्य रू. १ घटेपछि यस समूहको परिसूचक शून्य दशमलव ८७ अंक घटेर ६ सय ७७ दशमलव शून्य ६ बिन्दुमा पुगेको हो ।

 

सहाराको नाफा करिब ६ गुणा बढी
चालू आवको चैत मसान्तमा सहारा विकास बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा करिब ६ गुणा बढी बढेको छ । सो अवधिमा बैंकले १ करोड ४१ लाख खुद नाफा आर्जन गरको छ । सञ्चालन मुनाफा ४ सय ९४ दशमलव १९ प्रतिशत र खुद ब्याज आम्दानी १ सय २६ दशमलव १९ प्रतिशत बढेपछि बैंकको खुद नाफा बढेको हो । बैंकको चुक्ता पुँजी ६ करोड ७२ लाख र जगेडा कोष ४ करोड ६५ लाख रुपैयाँ रहेको छ । त्यसैगरी, बैंकको वार्षिक प्रतिसेयर आम्दानी २८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ८ सय २९ दशमलव ९७ र प्रतिसेयर नेटवर्थ ६२ दशमलव शून्य ५ रुपैयाँ रहेको छ ।

Universal News7

Good news for all

Leave a Reply

Your email address will not be published. Required fields are marked *